महेन्द्र मोरङ आदर्श बहुमुखी क्याम्पसको स्थापना ६८ वर्ष अघि भएको हो । विक्रम सम्वत् २०१२ साल साउन १६ गते मोरङ इन्टरमिडिएट कलेजको नामले स्थापना भएको यस क्याम्पस २ वर्षपछि स्नातक तहको पठनपाठन सुरु भएपछि मोरङ कलेज भयो । विराटनगरको आदर्श स्कुलमा अवस्थित कलेज २०१९ सालमा सरेर हालको स्थानमा आएको हो । अहिलेको मुख्य भवन २०१९ सालमा बनेको हो ।
कलेजको मुख्य भवन २०२० सालमा राजा महेन्द्रले उद्घाटन गरेपछि २०२४ सालमा कलेजको नाम पुनः परिवर्तन भई महेन्द्र मोरङ कलेज भयो । विराटनगरमै सञ्चालित अर्को कलेज आदर्श महाविद्यालय पनि गाभिएपछि २०३० सालदेखि यसलाई महेन्द्र मोरङ आदर्श बहुमुखी क्याम्पस नामकरण गरिएको हो ।
२०३३ सालमा त्रिभुवन विश्वविद्यालयलाई विकेन्द्रित गर्ने नीति र औद्योगिक नगरी विराटनगरलाई व्यवस्थापन शिक्षाको केन्द्र बनाउने उद्देश्यका साथ व्यवस्थापन तर्फको डिन कार्यालय स्थापना गरी यसलाई महेन्द्र मोरङ आदर्श बहुमुखी केन्द्रीय क्याम्पस नामकरण गरियो । डिन कार्यालय काठमाडौं सरेपछि केन्द्रीय शब्द हटाइयो ।
२०१६ सालभन्दा पहिले नेपालमा उच्चशिक्षाको एक मात्र परीक्षा केन्द्र त्रिचन्द्र कलेजमा थियो । त्रिचन्द्रका विद्यार्थीको उत्तरपुस्तिकासमेत पटना विश्वविद्यालयमा जाने गरेको थियो । त्रिचन्द कलेजमार्फत मोरङ इन्टरमिडिएट कलेजका विद्यार्थीको उत्तरपुस्तिका पनि पटना नै पठाइएको थियो । २०१२ सालमा सञ्चालित पहिलो परीक्षामा कलेजका १३ विद्यार्थी सहभागी भएकामा सबै विद्यार्थीले परीक्षा उत्तीर्ण गरेको डा गोविन्दमानसिंह कार्कीको ‘महेन्द्र मोरङ क्याम्पस विगतदेखि वर्तमानसम्म’ पुस्तकमा उल्लेख छ । पहिलो ब्याचमा कलेजका सबै विद्यार्थी उत्तीर्ण भएपछि व्यवस्थापन विषयको पठनपाठन सुरु गर्न स्थानीय व्यापारी समुदायले दबाब दियो । दबाबको फलस्वरुप २०१३ सालदेखि व्यवस्थापन विषयको पठनपाठन सुरु भयो । २०१६ सालदेखि स्नातक तहमा पनि व्यवस्थापनको पठनपाठन सुरु भयो ।
विश्वविद्यालयको परिकल्पना :
महेन्द्र मोरङ क्याम्पसलाई विश्वविद्यालयका रुपमा परिवर्तन गर्ने चर्चा यदाकदा चलिरहेको भए पनि यसको स्थापनासँगै यो विषय जोडिएको पाइन्छ । २०१३ सालमा मोरङको वडाहाकिम भएर आएका तारकबहादुर शाहले महेन्द्र विश्वविद्यालय स्थापना गर्ने उद्देश्यले अञ्चलाधीश पदेन अध्यक्ष रहने गरी मोरङ उच्च शिक्षा विकास समिति गठन गरेका थिए । विश्वविद्यालय स्थापनाका लागि पूर्वाधारका रुपमा नयाँ भवन निर्माण र विज्ञान विषयको पनि सुरुवात गरिएको थियो । विश्वविद्यालयका लागि १ सय २० विघा जग्गा अधिग्रहण गर्ने र ४ लाख ८० हजार रुपैयाँ उपलब्ध गराउन बिग्रेडियर जनरल भूपालमानसिंह कार्कीले राजासमक्ष माग राखेका थिए । राजाले प्रधानमन्त्रीलाई जग्गा अधिग्रहण गर्न र रकम उपलब्ध गराउन हुकुम पनि दिएका थिए । उच्च शिक्षा विकास समितिका सदस्यहरू कलेजमा एउटा भवन बनेपछि चन्दाबाट उठेको रकम गाउँका विद्यालयलाई बाँडियो र विश्वविद्यालय बनाउने योजना अधुरै रह्यो ।
विद्यार्थीको चाप :
मानविकी, व्यवस्थापन, विज्ञान र शिक्षाशास्त्र संकायका विषयमा पठनपाठन हुने कलेजमा २०४६–२०५६ सालमा विद्यार्थीको चाप थामिनसक्नु थियो । मानविकी, व्यवस्थापन र विज्ञान तीन वटा संकायमा १० हजारभन्दा बढी विद्यार्थी पठनपाठन गर्थे । पछि प्रमाणपत्र तह हटाएसँगै विद्यार्थीको चाप घट्दै गई २०७४ सालमा दुई हजार दुई सयमा पुगेको देखिन्छ। विद्यार्थीको चाप घटेपछि क्याम्पसको आकर्षण बढाउन नयाँ विषयहरू थप्ने काम थालियो । क्याम्पसले विज्ञान, मानविकीमा स्नातकोत्तर, शिक्षामा स्नातक तथा विभिन्न विषयमा पीएचडी कार्यक्रम पनि सुरु गर्यो । क्याम्पसले बीबीए, बीपीए, बीबीएम, एमबीए, पत्रकारिता, बीएसडब्लू र एमपीएको पठनपाठन पनि थाल्यो ।
विज्ञानतर्फ भौतिकशास्क्र र रसायनशास्त्रमा एमएस्सी, स्नातक तहमा माइत्रोबायोलजी, मेट्रियोजलीजस्ता विषयहरू थप गरिएका छन् । विज्ञान विषयका लागि छुट्टै भवन निर्माण गरिएको छ । नयाँ विषय र पूर्वाधार थपिन थालेपछि क्याम्पसमा विद्यार्थीको संख्या बढ्नेक्रम सुरु भएको छ । हाल १० हजार विद्यार्थीले पठनपाठन गरिरहेका छन् ।
धन्यवाद